किरातकाल




सीतालाई खोज्ने क्रममा राम, लक्ष्मण र सुग्रीवका बीचमा छलफल भएपछि सुग्रीवले वानर सेनालाई निर्देशन दिने क्रममा यो माथिको पद्य लेखिएको हो वाल्मीकि रामायणमा । ‘रावणले सीतालाई लगेर किरातीहरूको माझमा पनि लुकाएको हुन सक्छ । त्यसकारण त्यहाँ पनि खोज्न जाउ’ भनेर सुग्रीवको मुखबाट भनाइएको वाल्मीकिको पद्य रचना हो यो । यो सुग्रीवले भनेको कुरा भन्दा पनि वाल्मीकिले लेखेको कुरा हो भनेर बुझ्नुपर्ने हुन्छ । तर किराती जातिप्रति ईश्र्याभाव राख्ने कथित विद्वान्ले धेरै अघि नै यस पद्यको वास्तविक अर्थलाई अनर्थ गरेर लेखिएको र गोरखपुर गीता प्रेसबाट छापिएको वाल्मीकि रामायणको एउटा भाषा टीकामा लेखिएको गलत अर्थ देखेपछि प्रपन्नाचार्य ‘यस पटक मीतको होइन मेरै छोरो मरेको’ भन्ने अर्थमा भारतवर्षभरि खोजतलास गर्दै जाँदा पण्डित काशीनाथ आचार्यले लेखेको ‘रामायण तात्पर्य टीका’ नामक पुस्तक जम्मुकश्मीरको ‘रघुनाथ पुस्तकालय’ मा भेट्न पुग्छन् । यस पद्यको सही अर्थ लगाएको पुस्तक आज पनि अमुद्रित र खण्डित अवस्थामा भेटेको कुरा उनले आफ्नो ‘प्राचीन किरात इतिहास’ पुस्तकमा लेखेका छन् ।

गोरखपुर प्रेसले छापेको टीकामा ‘कर्णप्रावरणाश्चैव तथा चाप्योष्टकर्णका:’ लाई ओठदेखि खुट्टासम्म कानले ढाकिएका लामकाने, ‘....जमनाचैकपादका: लाई एकखुट्टे भएर पनि वेगले दौडिने, शरीरको तल्लो भाग मानिसको जस्तो देखिने तर माथिल्लो भाग बाघको जस्तो, द्वीपबासी, जलचरजस्ता, ‘काननौकस:’ लाई जंगलमा घरभएका जंगली, गुफाबासी भनेर अनुवाद गरिएको छ । तर पण्डित काशीनाथ आचार्यले त्यो पद्यांशलाई अनुवाद गर्दा कान र ओठसमेतलाई छोप्तै खुट्टासम्म आउने कपडा लगाएका, एक खुट्टाले मात्रै दौडिदा पनि दुई खुट्टाले दौडिनेले भेट्न नसकिने, घर वरिपरि जंगल लगाएर वस्ने भएकाले ‘वनौकस: , काननौकस: भनेर किरातीको परिचय वाल्मीकिले दिएका हुन् भनेर लेखेका छन् ।

आज पनि माझकिरातका किरातीहरूले ‘जंगलमा घर’ होइन बरु ‘घर वरिपरि जंगल’ लगाएर बसेका छन् । पानी त सबैलाई चाहिन्छ । तर किरातीको बारेमा यसो भन्न सकिन्छ, ‘जहाँ पानी छ त्यहाँ किराती छ, जहाँ किराती छ त्यहाँ पानी छ’ भनेर बुझिन्छ अहिले पनि । यदि पानीको मुहान पहरामा छ भने पनि किरातीले बाँसको डुँड लगाएर पनि सो पानी घरमा पिउनको लागि मात्र होइन घर वरिपरिको जंगलका लागि ल्याएको हुन्छ ।

आर्यहरू पूर्वतर्फ आउने क्रममा बाटामा राजा असमातीसँग युद्ध गर्नुपरेको थियो । असमाती किरातीका राजा थिए । उनीहरूले शताब्दियौंदेखि आवाद गर्दै आएको हराभरा भूमि देखेपछि आर्यहरू लोभिएका थिए । असमाती राजालाई आर्यहरूले त्यति सजिलै जित्न सकेनन् । यूद्ध चालीस वर्षसम्म रह्यो । अन्त्यमा आर्यहरूले षडयन्त्र गरेर असमातीको हत्या गराए । त्यसपछि किरातीहरू पूर्वतर्फ लागे । अझै किरातीहरू पूर्वमै छन् । यो कुरा वेदमै लेखिएको छ ।

नौ सय वर्षपहिला हर्कवली राई भन्ने किराती जातिका विद्वान् थिए भन्ने कुरा बिस्तारै खुल्दै छ । तिनको इतिहास खोज्न नेपालले जाँगर चलाएको छैन । त्यो पत्ता लगाउन पाए नेपालकै गौरव सावित हुने थियो । संस्कृतका तमाम ग्रन्थहरूको अध्ययन गरेर किरातीको इतिहास खोज्ने प्रपन्नाचार्य पनि एउटै थिए । यद्यपि उनको खोजमा कतिपयलाई चित्त बुझेको छैन ।

खोटाङकै युवा किरात मुन्दुम तथा इतिहास अनुसन्धानकर्मी भोगीराज चाम्लिङले मुन्दुमले बताउने किराती आदिमथलो ‘नियामा’ बारे अध्ययन गर्ने क्रममा चीनमा ‘खोटाङ’ भन्ने स्थान रहेको बताउँछन् ।

किरातास्तीक्ष्णचुडाश्च हेमाभा: प्रियदर्शना:
लामो केश टुप्पीजस्तो बनाएर पाल्ने, सुनजस्तै पहेला, हेर्दै प्रियलाग्ने रङ्रूप भएका किराती हुन् भनेर वाल्मीकिले लेखेको पशुपतिमा भएको विरुपाक्षको मूर्तिमा समेत मिल्न गएको देखिन्छ । प्रपन्नाचार्यका अनुसार उनले श्रीलंकामा एउटा मूर्ति देखेका थिए जसको मुन्तिर ‘कपिल’ लेखिएको थियो । द्वैतवादका प्रवर्तक तथा सांख्य दर्शनका प्रणेता कपिललाई प्रपन्नाचार्य कपिलकिरात भन्छन् । जातको त त्यसबखत मतलब थिएन । कि त किराती थिए कि द्रविड । आर्य त पछि आएका हुन् यस भूमिमा ।

किरातकाल किरातकाल Reviewed by Umesh Kurumbang on June 10, 2017 Rating: 5

No comments