किरातकाल
किरातीको इतिहास भेटिएको छैन भनिन्छ । तर खास कुरो– खोजिएको छैन । २९ देखि ३१ पुस्तासम्म शासन गरेको जातिको इतिहास छैन, भेटिँदैन भन्दा आजको पुस्ताले सजिलै किन पत्याइरहेको छ त्यो बरु आश्चर्यको कुरा हो ।
कुनै पनि विद्वान्ले लेखेको नेपालको इतिहास अहिलेको चारभञ्ज्याङभित्रको खाल्डोबाट सुरु हुन्छ । त्यहाँ पानीको ठूलो दह थियो । गोपाल वंशीहरूलाई दक्षिणबाट कृष्ण भगवान्ले लिएर आए । दहको पानी खोलिदिए । मानिस बस्नयोग्य बनाए । गोपालहरूलाई शासक बनाएर राखिदिए । बस्, इतिहास सुरु भयो । त्यसरी इतिहास लेख्ने प्राय: हिन्दु विद्वान्हरू नै थिए । तर यस क्षेत्रमा बारम्बार जाने गरेको भूकम्पतर्फ ती विद्वान्हरू घोत्लिएका भए दह बन्ने र खोलिने कारण अर्कै पत्ता लाग्ने थियो होला । त्यसपछि महिषपालको शासन सुरु भयो । पूर्वबाट किराती आए । महिषपालको भुवन सिंलाई हराए र किराती राजा भए । धेरै पछि फेरि दक्षिणबाटै लिच्छवी आए । किरातीलाई हराए । राजा उनै बने । मल्ल आए राजा भए । शाह आए राजै भए । बस्, इतिहास समाप्त भयो । यति नै हो नेपालको इतिहास । पूर्व कहाँबाट किराती आए ? लिच्छवी र मल्ल को हुन् ? शासकमध्ये धेरैले आफ्नो सुरुको नाम परिवर्तन गरिसकेका छन् । तर किरातीले आजसम्म पनि न त स्थान छाडेका छन् न आफ्नो जातिगत नाम नै । आफूलाई अझै उनीहरू किराती नै भन्दै छन् । तर यिनको इतिहास छैन ।
यो जातिको इतिहास खोजी गर्न यही जातिको ‘मुन्दुम’ लाई पल्टाए पनि विभिन्न बाटाहरू भेटिन्छन् । यसका साथै संस्कृत वाङ्मयभित्र पसेर किरातीको इतिहास स्वामी प्रपन्नाचार्य खोज्दै थिए । उनको जीवनको अन्तिम घडीमा संस्कृत वाङ्मयभित्रै ‘तपाईंपछि किराँतीको खोज गर्ने कुनै किराँती छन् ?’ भनेर सोधिएको पंक्तिकारको प्रश्नमा झोक्किँदै उत्तर दिएका थिए, ‘क्षत्री–बाहुन त छैनन्, केको किरातीको कुरा ?’ आज उनी छैनन् । तर अर्काे यस्तै एक प्रश्नको उत्तरमा भाषाविद् डा. तारामणि राई भन्छन्, ‘हामी किरातीको ‘पाछा र सामै’ भित्र पस्दै गर्दा संस्कृत भाषाभित्र नपसी नहुने देखिँदै छ ।’ तयस्तै ‘नछुङ’ लाई मुन्दुमको स्रोतका रूपमा लिइएको छ ।
‘नछुङ’ प्राय: सबै जातिमा हुने गर्छ । यसका नाम मात्र फरक हुने गर्छ । खस जातिमा यसलाई ‘धामी’ भनिन्छ भने राई जातिमा ‘डोपा’ । लिम्बुले ‘फेदाङमा’ भन्छन् भने सुनुवारले ‘नासो’ । जिरेलले ‘फोक्पो’ र तामाङले ‘बोन्पो’ । गुरुङले ‘ल्किवे’, चेपाङ र थकालीले ‘पाँडे’ र थारूले ‘गुरवा’ अनि भोटेले ‘लोवेन’ भन्छन् । (मुन्दुम : सृष्टिकथा, सम्पादक भोगीराज चाम्लिङ)
मुन्दुमअनुसार किरातीको नछुङ अलिक भिन्न प्रकारको देखिन्छ । यसले मानव सृष्टिकै कथा भन्छ । तर अलिक अगाडि बढेर यसले किरातीसँग जोड्छ । यसरी किरातीसँग जोडेर भनेका कथाले एउटा दर्शनको सिर्जना गरेजस्तो लाग्छ । खोटाङ जिल्लाको हलेसीनजिकै रहेको ‘तुवाचुङ र जायजुम’ डाँडामा किरातीका आदिमाताहरूले तान बुनेको कथा र मुन्दुमलाई जोडेर हेर्दा यस दर्शनले मानवजातिको विकासको कृषियुगबाट आफ्नो कथा सुरु गरेको छ ।
यसै क्रममा सो पुस्तकको भूमिकामा प्रा.डा. नोबलकिशोर राईले ‘हजार माइलको यात्रामा’ शीर्षक दिएर लेखेका छन्, ‘दुईखुट्टेहरूको उत्पत्ति र विकासक्रम विज्ञानको प्रादुर्भावभन्दा लाखौं वर्ष पहिलेको कुरा भएकाले नै हाम्रा पुर्खाहरूले भनेका र गरेका अभ्यासहरू जेठा हुन् । यही आधारमा रचना भएको हाम्रो पुख्र्याैली अभ्यास र ज्ञान नै मुन्दुम हो । यी मुन्दुमहरू नै हाम्रा श्रुति र स्मृति हुन् ।’
भाषाको विकासपछि लिपिबद्ध गरिएका वेद तथा सम्पूर्ण संस्कृत वाङ्मयमा ‘किराती यसरी लेखिएका छन्’ भनेर वाल्मीकि रामायणको एउटा सानो उदाहरण दिएर प्रपन्नाचार्यले लुकाउन खोजिएको किरातीको इतिहासको यथार्थ खोलिदिएका छन् । संस्कृत वाङ्मयभित्रको सबैभन्दा जेठो महाकाव्य वाल्मीकि रामायण हो । त्यसमा किरातीेबारे लेखिएको एउटा पद्यांश यस्तो छ :
‘येषांमाश्रयास्सर्वे विचेया (विज्ञेया:) काननौकस: ।
कर्णप्रावरणाश्चैव तथा चाप्योष्ठकर्णका: ।।
घोरलोहमुखाश्चैव जवनाच्चैकपादका ।
अक्षया बलवन्तश्च तथैव पुरुषादका ।
किरातास्तीक्ष्णचूडाश्च हेमाभा: प्रियदर्शना: ।।
आममीनाशनाश्चापि किराता द्वीपवासिन: ।
अन्तर्जलचरा घोरा नरव्याघ्रा इति स्मृता: ।।
यी माथिका ७ हरफका श्लोकहरूमध्ये २ हरफमा मात्र किराती शब्द आएको छ । बाँकी हरफहरूलगायत सबै हरफहरूमा किराती कस्ता थिए भन्ने कुराको उत्तर पाइन्छ । पहिलो कुरा त महर्षि वाल्मीकिले ‘किराती’ किन लेखे ? यतिमात्र होइन उनि आफूलाई ‘अहं पूरा किरातेषु किरातैस्सह वर्धित:’ म पहिले किरातहरूसँग रहेर बढेहुर्केको थिएँसम्म भनेका छन् ।
बाकि अंश अर्काे भागमा.....
किरातकाल
Reviewed by Umesh Kurumbang
on
June 09, 2017
Rating:
No comments