माङ्गेना
काठमाडौं : लेखक युग पाठकलाई एउटा प्रश्नले खुब पिरोल्यो- 'समाज विकासको चरणमा हामी नेपाली कहाँ छौँ? हामीले आफू, आफ्नो समाज र आफ्नो देशलाई ठिकसँग बुझेका छौँ?'
५ वर्षअघि लेखकको दिमाग हल्लाएको यो प्रश्नको जवाफ पुस्तकका रुपमा आएको छ। युग पाठक असार १७ गते (शनिबार) आफ्नो दोस्रो कृति 'माङ्गेना' विमोचनको तयारीमा छन्। २०६९ सालमा उनको पहिलो पुस्तक 'उर्गेनको घोडा' (उपन्यास) प्रकाशित भएको थियो।
#के_हो_'माङ्गेना'?
माङ्गेना शब्द लिम्बु भाषा र संस्कृतिसँग सम्बन्धित छ। कितावको भूमिकामा उनले माङ्गेनाबारे व्याख्या गरेका छन्। उनका अनुसार माङ्गेना लिम्बु संस्कृतिभित्रको संस्कारमात्र होइन, दर्शन पनि हो। त्यो दर्शन भन्छ- समाजमा कसैको पनि शीर झुक्नु हुँदैन। समाजमा मानिसहरूले शीर झुकाउनुपर्ने परिस्थितिहरू विद्यमान छन्। जसले अपमानित महसुस गर्छ त्यसको शीर उठाउने काम राज्यले गर्नुपर्छ।
'अधिकांश जनताको शीर झुकेको छ भने त्यो समाजको उत्थान हुँदैन। मान्छेको शीर उठाउन अनुष्ठान गर्नुपर्छ', उनी भन्छन्, 'लिम्बु संस्कृतिमा मान्छेको शीर उठाउन माङ्गेना गरिन्छ।'
अनि देशको माङ्गेना कसरी गर्ने त?
'शीर के के कारणले झुकेका छन्, ती अन्तर्विरोधहरू पहिचान गर्नुपर्यो, समाजिक कारण छ कि जातीय कारण छन् कि पहिचान गर्नुपर्यो। ती कारणको उपचार गर्यो भने मान्छेको शीर उठाउन सकिन्छ', युगले जवाफ दिए।
नेपालका आदिवासी संस्कृतिभित्र रहेका ज्ञानहरू सबै समुदायमाझ अन्तर्घुलीत भएमात्र राष्ट्रिय एकता बन्ने उनको बुझाई छ।
नेपालमा यतिका भाषाहरू छन् तर कितावको नामका लागि उनले लिम्बु भाषा नै किन रोजे?
लिम्बु भाषाबाट पुस्तकको नाम राख्नुको कारण आफ्नो ज्ञानमाथिको पहुँचको सीमा भएको उनी बताउँछन्। 'संसारमा धेरै ज्ञान हुन्छ तर सबै ज्ञानमा तपाईँको पहुँच हुँदैन। यहाँ धेरै भाषा छन्, संस्कृति छन् तर मलाई सबै थाहा छैन', उनी भन्छन्।
लिम्बु भाषासम्म उनको पहुँच कसरी पुग्यो त?
लिम्बु संस्कृतिमा आधारित नाटक 'युमा' लेख्दा उनले 'माङ्गेना' सँग साक्षात्कार गरे। कविहरू स्वप्निल स्मृति र चन्द्रवीर तुम्बाफोबाट युमाबारे बुझे। मुन्धुमको अध्ययन गरे। मुन्धुममा फोदाङ्वाले माङ्गेना गरेका प्रसंग छन्।
कितावमा के छ?
लेखक युग पाठकका अनुसार 'माङ्गेना' ले पञ्चायतकाल र त्यसभन्दा अघिदेखि संस्थागत गरिएका विचारधाराहरूमाथि प्रश्न गर्छ। 'पुराना विचारधाराहरू खारेज गर्नुपर्ने र नयाँ विचारधाराका आधारमा नेपाली समाजलाई चिन्ने र बुझ्ने वैचारिक अवधारणा विकास गर्नुपर्ने दलील प्रस्तुत छ', उनी भन्छन्। शासकहरूको इतिहास लेखिए पनि आमनागरिकको इतिहास नलेखिएको बताउने पाठक इतिहास लेखनको परम्परामाथि पनि आफूले प्रश्न गरेको बताउँछन्।
'जसरी हामीकहाँ इतिहास लेखिएको छ, जुन तरिकाले पृथ्वीनारायणदेखि आजसम्म शाहवंशको महानताको इतिहास निर्माण गरिएको छ, त्यो नक्कली हो', उनी भन्छन्, 'त्यो शाहवंशको औचित्य पुष्टि गर्नका लागि लेखिएको हो, जनताको इतिहास होइन।' जनताले दैनिक जीवनमा संघर्ष/श्रम गरेर कसरी एउटा देश निर्माण गरिरहेका हुन्छन् कस्ता कस्ता अपमान र विभेद सहेर समाज निर्माण गरिरहेका हुन्छन्, त्यो इतिहास हामीले पढ्ने इतिहासमा आउँदैन भन्ने मत उनको छ।
'माङ्गेना' मा युग पाठक नेपालको विकास अवधारणामाथि पनि प्रश्न गर्छन्। '७० वर्षदेखि जे कुरालाई विकास भनिएको छ, त्यो विकासको अवधारणा नै गलत छ, त्यसलाई पनि नयाँ ढंगले हेर्नुपर्छु', उनी भन्छन्, 'विभिन्न सीमान्तकृत समुदायले पहिचानको मुद्दा उठाउँदै राज्यसत्ताको पुनर्संरचना चाहेका छन्, त्यो आवाजलाई पुनः पुस्तकले उठाउँछ। नेपाललाई चिन्ने र बुझ्ने नयाँ अवधारणा चाहिन्छ।'
माङ्गेना
Reviewed by Umesh Kurumbang
on
July 01, 2017
Rating:
Reviewed by Umesh Kurumbang
on
July 01, 2017
Rating:


No comments